एजेन्सी, माघ १२
बिहिबारदेखि प्रदर्शनमा आएको हिन्दी चलचित्र पद्मावतीका कारण भारतका धेरै ठाउँमा हिंसाका घटना भएका छन् । सञ्जयलिला भन्सालीको निर्माण तथा दीपिका पादुकोण र रणविर सिंहको मुख्य अभिनय रहेको फिल्ममा राजपुत जातकी हिन्दु रानी पद्मीनीको एक मुस्लिम समुदायका युवकसँगको प्रेमलाई देखाइएको छ ।
विरोधको नेतृत्व भारतीय हिन्दु समर्थक राजपुत करणी सेनाले गरिरहेको छ । फिल्मले रानीको अपमान गरेको र रानीलाई उत्ताउलो बनाइदिएको भन्दै विरोध भएको छ ।
भारतका विभिन्न सहरमा गाडी र पसलमा तोडफोड भएको छ । केही शहरमा स्कुल र सरकारी कार्यालय पनि बन्द गराइएको छ । राजस्थान, मध्यप्रदेश, गुजरात र गोवा राज्यमा फिल्म प्रदर्शन भएको छैन भने फिल्म प्रदर्शन भएका राज्यका सिनेमा हल बाहिर धेरै सुरक्षाकर्मी खटाइएको छ ।
फिल्मको पदर्शन रोक्न माग गर्दै अदालतमा मुद्दा हालिएको थियो तर सर्वोच्च अदालतले फिल्म रोक्नुपर्ने कुनै कारण नभएको भन्दै फिल्म रिलिजको आदेश दिएको थियो ।