इनरुवा, माघ १२
सुनसरीमा एकैपटक १५५ वटा साक्षरता कक्षा सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहितका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएको हो ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले दिएको जानकारी अनुसार जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको हो ।
इनरुवा नगरपालिका, इटहरी र धरान उपमहानगरपालिका, बर्जु, गढी, हरिनगरा, भोक्राहा, कोशी तथा देवानगन्ज गाउँपालिकाका विभिन्न वडामा गरी १५५ ठाँउमा निरन्तर सिकाइ कक्षा सञ्चालन भएको सुवेदीले जानकारी दिए । विभिन्न ठाउँमा २१ ओटा सामुदायिक सिकाइ केन्द्रमार्फत कक्षा आयोजना भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।