एजेन्सी, असार ९
जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनायो ।
बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । रहिमले ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ८३ रनको योगदान दिए ।
पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।
अफगानिस्तानका लागि मुजिव उर रहमानले ३, कप्तान गुलवदीन नाइबले २ विकेट लिए भने मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो । अफगानस्तानले अहिले ब्याटिङ गरिरहेको छ ।