१९ असार, काठमाडौँ ।
हुम्ला जिल्लाकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरको पछाडि चढाएर शहर घुमाउने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई आफूले चढ्ने स्कूटरको पछाडि राखेर घुमाउने इच्छा उनले सार्वजनिक रुपमै व्यक्त गरेकी हुन् । प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा विहीबार सांसद शाहीले यस्तो कुरा बताएकी हुन् ।
स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलमा उनले प्रधानमन्त्री ओलीप्रति व्यङ्ग्य गर्दै भनिन्–‘प्रधानमन्त्री ज्यू अब काठमाडौँका सडकमा यात्रा गर्दा माक्स लगाउनु पर्दैन भन्नुहुन्छ, तर म यो कुरा विस्वास गर्दिन ।’ बैठकमा उनले अगाडि भनिन्–‘म वनस्थलीमा बस्छु, त्यहाँबाट सिंहदरबार आउँदा धुँवा र धुलो सही नसक्नु छ, माक्स नलगाई हिड्नै सकिन्न ।’
गत शनिवार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उत्साहित हुँदै भनेका थिए–‘एक वर्ष अघि र अहिले काठमाडौँको सहड हेर्नुस्, म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले माक्स नै लगाउनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले काठमाडौँमा माक्स लगाउनु पर्दैन भनेपनि अवस्था भने त्यस्तो छैन । प्रधानमन्त्री ओलीले आफूले गरेका प्रगतिबारे चर्चा गर्दा यथार्थ के हो भन्नेमा विचार गरेको पाइदैन ।(विकास न्युजबाट)