छ हजार भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै निवेदन

छ हजार भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै निवेदन

चितवन, माघ १६
भूकम्पले घर भत्काएको तर लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै पाँच हजार ७२४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् ।

कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३६४ वटा र रत्ननगर नगरपालिकाबाट ९८७ निवेदन प्राप्त भएका हुन् । यस्तै खैरहनी नगरपालिकाबाट ५२७, राप्ती नगरपालिकाबाट ९२२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १२९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले जानकारी दिए ।

उहाँका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा सात हजार ३३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो । सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ ।

छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने कार्कीले बताउनुभयो । शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार ३२३ जनाले लिइसकेका छन् ।

दोस्रो किस्ताका लागि १९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख दिने व्यवस्था छ ।

मर्मतका लागि भने ३५९ घरले रु ५० हजार लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५९३ छन् । उनीहरुले रु एक लाखसम्म मर्मतका लागि पाउने व्यवस्था छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.