१ साउन, बिराटनगर ।
नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए ।
डा. नेपालका अनुसार शरिरको महत्वपूर्ण अंग हो मुटु । त्यसैले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिन्छ । तर, मुटुको गंभिर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर मुटुको शल्यक्रिया गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताए ।
जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरिन् ।
यस्तै झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उनका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिए । २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालनमा ल्याएको छ । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको छ । ओपन हार्ट सर्जरी सुरु भएपछि अव मुटु रोगको सवै किसिमका उपचारमा नोबेल सक्षम भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।