मोरङबाट १२ वटा संरक्षित जीव सुन गोहोरो बरामद

१ भदौ ७६, सोमबार

२ भदौ, मोरङ । मोरङ प्रहरीले संरक्षित एक दर्जन सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ ।

मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ हर्चगढी स्थित सिक्टी डायनिया भित्री सडक खण्डबाट प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने वर्ष ५९ को जसबहादुर धिमाललाई १२ वटा जिउदो सुन गोहोरासहित पक्राउ गरेको हो ।

सिक्टीबाट डायनिया तर्फ आउदै गरेका साईकल यात्री धिमाललाई प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा प्लाष्टिकको बोरामा ल्याई राखेको जंगली सकुशल अवस्थाको जिउँदो सुन गोहोरो १२ वटा फेला पारेकथो थियो ।

Advertisement

बरामद गरिएका सुन गोहोरोसहित पक्राउ परेका धिमाललाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले संरक्षित प्रजातिमा रहेका कारण सुन गोहोरो मार्न वा यसको चोरी सिकारी गर्न कानुनले पूर्णरूपमा प्रतिबन्ध लगाएको बताए । यति धेरै संख्यामा गोहोरोसहित पक्राउ परेका व्यक्तिमाथि कारबाही अघि बढाउन अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिएको घिमिरेको भनाइ छ ।

Advertisement

सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जीव हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।

सुन गोहोरो साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ ।

गोहोरो सरिसृप वर्गमा पर्ने ढाडमा हाड हुने वन्यजन्तु हो । यो जंगलको खोल्साहरूमा पाईन्छ । यसको छालाबाट खैंजेडी, डम्फु, ढ्याङ्ग्रो, मादललगायतका ताल बाजाहरू बनाइने गरेको पाइन्छ । यसको चोरी सिकार गर्नेलाई १ वर्षदेखि १० वर्ष कैद र ४० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top