विराटनगर, माघ २७
नेकपा एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिन भित्रमा सरकार गठन गर्ने बताएका छन् ।
संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै राईले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए । अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसकेको बताउँदै उनले बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष पनि गरे ।
प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताउँदै उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता व्यक्त गरे । यता संसदीय दलको नेतामा पराजित भएका एमाले नेता भीम आचार्यले अब पार्टीमा सक्रिय रुपमा लागि पर्ने बताए ।
सभामुखमा अवसर आयो भने नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले सभामुखमा आफ्नो कुनै इच्छा नभएको स्पष्ट पारे । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्षसम्म भूमिगत जीवन बिताएका छन् ।