विराटनगर, माघ २७
प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । प्रदेश १ को मुख्यमन्त्री को हुने भन्ने विवाद अन्तत चुनावी प्रक्रियाबाट टुंगिएको हो । केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम आचार्यलाई पराजित गरेका हुन् ।
हिजो अपरान्ह विराटनगरमा भएको निर्वाचनमा राईले २६ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी आचार्यले २४ मत ल्याए । एक मत भने बदर भएको छ ।
नेपाल पक्षका खोटाङका राजन राईको मत बदर भएको बताइएको छ । उनले मतपत्रमा टिक लगाउनुपर्नेमा हस्ताक्षर गरेको निर्वाचन समितिले जनाएको छ । संसदीय दलको नेता चयनसँगै राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश १ मा वाम गठबन्धनको दुई तिहाई मत छ । प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने सहमति यसअघि नै गठबन्धनबीच भइसकेको छ ।