काठमाडौं, माघ २७
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।
संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए ।
जस अनुसार एमाले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।
आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए ।
संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ ।