२६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको चुनाव आगामी भदौ २८ गते शनिवार हुने भएको छ ।
यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित गरिएको थियो । चुनाव सातदोबाटोमा रहेको कमिटीको कार्यालयमा बिहान आठ बजे सुरु हुनेछ ।
यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।
यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले चुनाव स्थगित गरी दुवै पक्षलाई २२ गतेका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको चुनाव स्थगित भएको थियो ।
आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले चुनाव रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।
सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको चुनावका लागि नयाँ मिति तोकिएको हो । यसपटकको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन् । कुल २७ भोटमा २६ जना पदाधिकारी चुनावमा होमिएका छन् ।