७ असोज, काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन नेपाल यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । काठमाडौँको हलचोकस्थित एपीएफ मैदानमा मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
नेपाल सेमिफाइनल पुग्नका लागि भुटानले माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गर्नुपर्थ्यो । तर यी दुई टिमले बराबरी खेलेसँगै भुटान समूह विजेता र माल्दिभ्स उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटानले दुई खेलबाट चार अंक जोडेको छ भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो । नेपालले भने माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो भने भुटानसँगको खेल ३–० ले गुमाएको थियो ।
कुनै पनि प्रतियोगितामा समूह चरणबाट अघि बढ्न नसकेको भुटानका लागि यो उपलब्धी अहिलेसम्मकै ठूलो हो ।