जनकपुर, फागुन १०
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एमाले ,माओवादी ,संघीय समाजवादी पार्टी र एक जना स्वतन्त्र सांसदको सहयोगबाट प्रदेश सभामा विश्वासको मत लिएका छन् ।
विश्वास मतको प्रस्तावको विपक्षमा नेपाली कांग्रेसले मात्रै आफनो मत राखेको छ । अन्य सबै राजनितिक दलले पक्षमा मतदान गरेका छन । प्रस्तावको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा १८ मत परेको थियो । विश्वास मतको प्रस्ताव राख्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सबैको सहयोग र सहकार्यबाट मात्रै प्रदेशको विकास सम्भव रहेको बताए । उनले संघीयताको कार्यान्वयन गर्नको लागि प्रदेशमा सरकारको स्थायित्वको आवश्यकता रहेको बताए ।
सभामा राजपा नेपालका नेता रामनरेश रायले सबैको सहयोगबाट मात्रै संघीयता सफल हुन सक्ने बताउदै संघीयताको सफल कार्यान्वय आजको आवश्यकता रहेको बताए । विश्वास मत प्रस्तावको पक्षमा आफनो मत राख्दै संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले संघीयताको लागि समेत अहिलेको सरकारको स्थायित्वको आवश्यकता रहेको बताए ।
प्रस्तावको समर्थन गर्दै नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले विकास र समृद्धिको लागि सरकारसँग आफु हरेक प्रकारको सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उनले आफनो पार्टी विपक्षमा बसेर पनि प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।
विश्वासत मत प्रस्तवको विपक्षमा आफनो मत राख्दै नेपाली काग्रेसका संसदीय दलका नेता राम सरोज यादवले नेपाली काग्रेस वर्तमान सरकारसंग सहमति र सहकार्य गरेर अगाडि बढन तयार रहेको बताउदै एकतर्फी रुपमा सहमति र सहकार्य हुन नसक्ने बताए ।