विराटनगर, फागुन १०
मोरङको सुन्दरहरैंचामा सुन्दरहरैंचा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय एकता युवा क्लवको आयोजनामा फागुन–१२ गतेदेखि फागुन १९ गतेसम्म गोल्डकप सञ्चालन हुन लागेको हो ।
यतिबेला गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष विक्रम सामपाङले जानकारी दिए । प्रतियोगिता हुने मैदानको घेराबारा, प्याराफिट र मञ्चनिर्माण लगायतको काम सकिएको छ ।
गोल्डकपमा प्रदेश नम्बर १ का ८ वटा टोलीको सहभागिता रहनेछ । फागुन १२ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा एफ.सी. सयपत्री यासोक, पाँचथर र एपीएफ दमक झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।
गोल्डकपको विजेतालाई १ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफि प्रदान गरिने छ । गोल्डकपलाई विराट चोकस्थित दायाराम आटो ट्रेडर्सले मुख्य प्रायोजन गर्ने भएको छ ।