२४ असोज, जकार्ता । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आवद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षामन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ ।

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपत्कालीन उपचार गरिएको छ । स्थानीय टेलिभिजनले प्रसारण गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुईजनालाई पक्राउ गरिरहेको देखाएका छन् । विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो ।
आफ्नो सवारी–साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उनीमाथि आक्रमण भएको थियो । शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन् । उनीहरु विवाहित दम्पती हुन् । उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह (जेएडी)का सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताए ।
यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो । छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकोप्टरमा राखेर राजधानी जकार्ता्स्थित अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीकाअनुसार उनीमाथि यसअघि पनि दुईपटक असफल हत्या प्रयास गरिएको थियो । इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।
विरान्तोसँगै एकजना स्थानीय प्रहरी प्रमुख र उनका दुईजना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो । तर, उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।(रासस)
