काठमाडौं, फागुन १३
नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ । नेविसंघका साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउदै पार्टी कार्यालय सानेपामा प्रर्दशन गरेका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीले जिद्दीले होइन विधिले चलौ , वेथितिले होइन विधिबाट चलौ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए ।
केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ट विद्यार्थीले आरोप लगाएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि आएका रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई ज्ञापनपत्र दिदै माग सम्बोधनका लागि पहल गर्न विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन ।