विराटनगर, फागुन १४
प्रदेश १ को संसद भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना सांसद रहेको प्रदेशसभामा संसद भवनको सिट क्षमता १ सय ४० जनाको छ ।
संसद भवन अत्यन्तै साँघुरो र असजिलो भएको भन्दै सांसदहरुबाट गुनासो आएको बताउँदै सभामुख प्रदिपकुमार भण्डारीले हलको वैकल्पिक व्यवस्थापनको खोजी भइरहेको जानकारी दिए । हल साँघुरो हुदाँ सांसदहरुलाई बस्न, बोल्न र टिपोट गर्न समस्या भइरहेको उनले बताए ।
हल सारै सानो भएकाले सदन चलाउन असजिलो भएको उनको भनाइ छ । एउटा डायरी राख्ने टेबल तथा सासंदहरुलाई बसेकै स्थानबाट बोल्नका लागि माइकको समेत व्यवस्थापन नहुदा समस्या देखिएको छ । उपर्युक्त भए सरकारी वा नीजि क्षेत्रका घर भाडामा लिएर भएपनि संसद भवनको रुपमा प्रयोग गर्न सकिने गरी खोजी भइरहेको संसद सचिवालयले जनाएको छ । हाल जिल्ला समन्वय समितिको पहिलो र दोस्रो तलामा संसद सचिवालय र प्रदेशसभाहलको व्यवस्था गरिएको छ ।