विराटनगर, फागुन १५
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित नाटक ‘मुनामदन’ हेर्न विराटनगरस्थित आरोहण गुरुकुलमा दर्शकको भीड थाम्न आयोजकलाई हम्मेहम्मे परेको छ ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबारदेखि सुरु मुनामदन नाटक हेर्न विद्यालय, क्याम्पसका साथै अभिभावकहरुको समेत अत्यधिक भीड लागेको छ ।
हरेक दिन १२ र ३ बजे मञ्चन हुने नाटकमा चाप बढेपछि आयोजकले दर्शकलाई भुइँमा गुन्द्री र दरी बिछ्याएर राख्नुपरेको छ । मुनामदनको नाट्य रुपान्तरण कटुवाल दीपकले गरेका हुन् भने निर्देशन सुदीप कार्कीले गरेका छन् । महाकवि देवकोटाले कृति ‘मुनामदन’ नाटकमा रुपान्तरण गरी रंगकर्मीमा डेब्यू गरेका कलाकारले सशक्त अभिनय गरेका छन् ।
विराटनगर र आसपासका विद्यालय र क्याम्पसले अग्रिम शो नै बुक गरेर विद्यार्थीलाई नाटक हेर्न ल्याउने गरेको निर्देशक सुदीप कार्कीले बताए । १ घन्टा १५ मिनेट लामो नाटक दर्शकले अत्यधिक रुचाएपछि मञ्चनको समय १ दिन थप गरिएको आयोजक संस्थाका सचिव कट्वाल दीपकले जानकारी दिए ।
आजसम्म मञ्चन गर्ने तयारी गरिए पनि भोलि बुधबारमात्रै नाटकको समापन गरिने उनले बताए । नाटकमा सरु कटुवाल, लकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।