१६ कार्तिक, काठमाडौं ।
नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौं आइपुगेको छ । विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौंका लागि उडेको थियो ।
सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो ।
विमान निर्माण तथा खरिदका लागि सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपैयाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले यो विमान बहुउपयोगी भएको बताउँदै विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने बताए । नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् ।

