काठमाडौं, फागुन २०
संघीय संसदले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार संघीय संसदले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिकामा सहमति जुटाइएको हो ।
२६ गते प्रतिनिधिसभाको सभामुख, २७ गते प्रधानमन्त्रीको विश्वासको मत र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरिएको सत्तारुढ एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए ।
२९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । भोली सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिईसक्नुपर्ने हुन्छ ।
सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । सोमबार संसदको पहिलो बैठकले पारित गर्नेगरी अन्तरिम कार्यविधिलाई अन्तिम रुप दिइएको सत्तारुढ माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।
बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्त ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।
त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौंधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कार्वाहीमा भाग लिने व्यवस्था गर्न पनि पुनः आग्रह गरिएको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनता पार्टी, नेपालका सांसद चौधरी कैलाली घटनाको हत्या आरोपमा कारगार चलान भएका छन् ।