विराटनगर, फागुन २०
विराटनगरमा लिलामीमा परेको एक घर साबिकको घरधनीले लामो समयसम्म हस्तान्तरण गर्न नमान्दा जनप्रतिनिधिको रोहबरमा सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ ।
विराटनगर–१४ जतुवामा रहेको डाक्टर दिलिप अधिकारीको घर निलामीमा परेको ७ महिनासम्म निलामी सकार गर्ने ब्यक्तिलाई हस्तान्तरण नगरेपछि स्थानिय जनप्रतिनिधि र प्रशासनले सम्बन्धित ब्यक्तिलाई सो घर बुझाएका हुन् ।
सुनसरी सितागञ्जस्थित एभरेष्ट साईन्स सेन्टरका सञ्चालक दिलीप अधिकारीको निलामीमा परेको सो घर स्थानिय अशोक यादवले खरीद गरेकाम थिए ।
तर, ७ महिनासम्मपनि आफुले खरीद गरेको घरमा प्रवेश गर्न नपाएपछि वडा नम्बर १४ को वडा कार्यालयमा दिएको निवेदनअनुसार स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा साबिकको घरधनिले लगाएको ताल्चा फुटाएर घरधनिलाई जिम्मा लगाइएको वडा नम्बर १४ का वडा सदस्य महिचन्द यादवले जानकारी दिए ।
साबिकको घरधनिका घरभित्र रहेका फर्निचर लगायतका सामानहरुको मुचुल्का उठाइएको र अधिकारी सम्पर्कमा आएपछि ती सामान जिम्मा लगाईने उनले जानकारी दिए ।
जतुवाको गौशाला छेउमा १० धुर जग्गामा बनेको एकतले घर ३२ लाखमा निलामी भएको बताइएको छ । अधिकारीले महालक्ष्मी विकास बैंकबाट लिएको ऋणको साँवा ब्याज नतिरेपछि सो घर निलामी भएको जनाइएको छ ।