३ मंसिर, बिराटनगर ।
सडक निर्माणमा ध्यान नदिएको भन्दै विराटनगर–६ का स्थानीयबासीले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् । कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो पाँच वर्षसम्म पनि नबनेको भन्दै आक्रोशित बनेका स्थानीयले ब्यानरमा मेयर पराजुलीको फोटो राखेर सांकेतिक विरोध गरेका हुन् ।
स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका छन् । ‘मेयर पराजुलीलाई पटकपटक ध्यानाकर्षण गराएपनी बाटो बन्ने छाँटकाँट नदेखिएपछी मेयरको फोटो टाँस्न बाध्य भएका हौँ।’ स्थानीय नवीन बिक्रम शाहले भने,‘ मेयरसँग नजिक र पहुँचवाला भएका ठाउँहरु तिर बाटो बनिसके तर यो सबैभन्दा पुरानो र मुख्य बाटो भएपनी अझैसम्म बन्ने सुरसार छैन् ।’
दुईचार जनासँग मेयरको व्यक्तिगत मनमुटाव भएकै कारण बाटो नबनेको एक स्थानीय युवाले बताए । एडीबीको सहयोगमा भईरहेको क्षेत्रिय सहरी विकास परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समम्या भोग्दै आएका छन् । समयमा नै सडक नबनाएपछि काठमाडौंमा सर्वसाधरणले ठेकेदारको तस्बीर सवारी साधन र सडकमा टासेर विरोध गरेका थिए । काठमाडौंको सिको गर्दै विराटनगरमा पनि स्थानीयबासीले मेयरको फोटो राखेर भद्र विरोध गरेका हुन् ।
