विराटनगर, फागुन २०
विराटनगर–१ स्थित विष्णुमाया सामुदायिक पुस्तकालयको स्तरोन्ती र सामुदायिक भवनको निर्माण पुरा गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।
महायज्ञ आयोजनाको पहिलो दिन झाँकीसहित कलशयात्रा निकालिएको छ । बिष्णुमाया पुस्तकालय भवन परिसरबाट निकालिएको कलशयात्राले भट्ठाचोक, शंकरचोक, जिल्ला प्रहरी कार्यालयबाट राधाकृष्ण स्कुल हुदै पोखरीयाको विभिन्न भागको परिक्रमा गरेको छ ।
कलशयात्रा पुस्तकालय भवन परिसरमा आयोजना गरिएको महायज्ञस्थलमा पुगेर समापन भएको थियो । कलशयात्रामा सप्ताह ज्ञान महायज्ञका कथा वाचक पण्डित योगेश बराहक्षेत्र, श्री मद्भागतवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष केशवप्रसाद गौतमसहित श्रद्धालु सर्वसाधारण र स्थानिय विद्यालयका विद्यार्थीको सहभागिता थियो ।
महायज्ञबाट संकलित रकमबाट बिष्णुमाया पुस्तकालयलाई बिद्युतिय पुस्तकालयमा रुपान्तरण गर्नुका साथै निर्माणाधिन सामुदायिक भवनलाई पुर्णता दिईने महायज्ञ प्रचारप्रसार उपसमितिका अध्यक्ष चन्द्र उपाध्यायले जानकारी दिए ।
महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा महायज्ञ शुरु हुनु अघि नै दाताहरुले ४० लाख दानसहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाईसकेको आयोजक समितिले जनाएको छ ।