विराटनगर, फागुन २०
उर्लाबारी–७ का ३६ वर्षिय सनम शाक्यको हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको टोलीले विराटनगरस्थित पोखरियामा बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको थियो ।
शाक्यको हत्या गरी गाडीको डिकी भित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
सुनका कारोबारी रहेका शाक्यको अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा संलग्न अभियुक्त पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।
शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले जनाएको छ ।
फागुन १५ गते शाक्य अपहरणमा परेका थिए । प्रहरीले घटनामा संलग्न काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको समाचार श्रोतले उल्लेख गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।