अधिकांश बैंकिङ कसुरमा कर्मचारीकै संलग्नता, कृषि विकास बैंकमा ३४ करोड हिनामिना

११ मंसिर ७६, बिहीबार

१२ मंसिर, काठमाडौँ । 

Advertisement

गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ लुट्यो । त्यसको महिनादिन नबित्दै फेरि असोजको पहिलो साता कृषि विकास बैंकको लहान शाखाबाट पनि ५ करोड रुपैयाँ चोरी भयो । गत आइतबार जनता बैंकमा रहेको व्यक्तिको खाताबाट र्किते हस्ताक्षर गरी चेकबाट १९ लाख ९९ हजार रुपैयाँ निकालियो ।

सोमबार गोपालमान राज वहाकको खातामा बाँकी रहेको ५ लाख निकाल्ने प्रयास गरियो । त्यसको पर्सिपल्ट बुधबार साँझ फेरि मुक्तिनाथ विकास बैंकको खाताबाट सोही गिरोहले १० लाख निकालेको पुष्टि महानगरीय प्रहरी परिसरले गरेको छ । प्रहरीले यी सबै मुद्दाको छानबिन र अध्ययन अनुसन्धान गरिरहेकै छ । बैंकहरूले पनि आफू कसरी यस्ता घटनाबाट जोगिने भनि थप शतर्कता अपनाएका छन् ।

Advertisement

यद्यपि यस्ता घटनाहरु रोकिनुको सट्टा अझै बढ्दो छ । बैंकको एटीएम प्रयोग गरेर कृषि विकास बैंकको लाहान शाखाबाट पैसा निकालिएको डेढ महिनाको यो अवधिमा फेरि बैंकमा अर्को लफडा शुरु भएको छ ।

कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमित विपरीत ३३ करोड ९३ लाख रकम बैंकलाई हानी नोक्सानी पुर्याएका छन् । बैंकलाई हानीनोक्सानी पुर्याएको आरोपपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

Advertisement

आयोगले दायर गरेको मुद्दाअनुसार बैंकका कर्मचारीले विप्रेषण रकम समेत नक्कली नागरिकता पेश गरी आफैंले लिएको पाइएको छ । कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेत सम्पूर्ण जिम्मेवारी र दायित्व हुुनुपर्नेमा सो भूमिका समेत निर्वाह नगरेको पाइएको छ । गौतमले झुठा विवरण र नक्कली नागरिकता बनाइ रेमिटबाट आएको रकममा फर्जी कारोबार देखाइ जम्मा गरी अन्यत्र पठाएको भेटिएको छ ।

बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरुबाट ईसीसी (इलेक्ट्रोनिक चेक क्लियरिङ) मार्फत भुक्तानी लिने, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाइ नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ सिष्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याएर बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप उनीमाथि लागेको छ ।

तेजबहादुर थापा नाम खडा गरी सोही नामबाट नागरिकता र राहदानीसमेत बनाइ बैंकबाट हिनामिना गरेको रकम लिएर विदेश फरार हुने योजनासमेत बनाएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

बैंकको सम्पत्ति दुरुपयोग गर्न शाखा अधिकृत गौतमकी जेठी श्रीमती सम्झना पोखरेल समेत संलग्न रहेको पाइएको आयोगले जनाएको छ । सम्झनाले तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट गैरकानुनी रुपमा निकालेको रकमबाटै कर्जा लिएको, सो रकमको कारोबार गर्न अन्य बैंकका खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष सम्लग्न रहेको, जग्गा जमानी सबै बिक्री गरी भारत पलायन हुने योजना समेत बनाएको पाइएको छ ।

गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले समेत श्रीमान्लाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगी भूमिका खेलेको आयोगको आरोप छ । यस्तै शाखा अधिकृत गौतमले निकालेको पैसा व्यवस्थापन गर्न सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूसमेत संलग्न रहेकोे आरोपपत्रमा उल्लेख छ ।

सो घटनामा मतियारका रुपमा कृष्णहरि थापा भनिने राजीव थापासमेत सो प्रकरणमा जोडिएका छन् । आयोगले सोमबार बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, गौतमकी पहिलो श्रीमती सम्झना र दोस्रो श्रीमती जेनी श्रेष्ठ, मतियारका रुपमा रहेका सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध जनही ३३ करोड ९३ लाख बराबरको बिगो दाबी गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top