१२ मंसिर, चितवन ।
चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढी क्षेत्रलाई आकर्षक मूर्तीहरुले सजाइएको छ । नेपाल र भारतको सिमानामा रहेको यो क्षेत्र धार्मिक दृष्टिकोणले समेत परिचित छ । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न मूर्तीको फूलबारी निर्माण गरेको जनाएको छ ।
नेपालको एक सय पर्यटकीय गन्तव्यमा परेपछि माडी नगरपालिकाले सोमेश्वर गढी क्षेत्रलाई मूर्तीको फूलबारीको रुपमा विकास गरेको हो । नगरपालिकाले उक्त क्षेत्रमा ५० वटा मूर्ती निर्माण गरेको जनाएको छ । माडी नगरपालिका र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त योजनामा यस क्षेत्रमा मूर्ती निर्माण गरिएको हो । नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले राष्ट्रिय स्तरका २९ जना मूर्तीकारहरुले मूर्ती बनाएको समेत जानकारी दिनुभयो ।
सोमेश्वर गढी क्षेत्रलाई मूर्तीहरुको खुल्ला संग्रालयको रुपमा चिनाउन यसले सहयोग गर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ती विभागका प्रमुख लालकाजी लामाले बताए । एकैस्थानमा धेरै मूर्तीहुदाँ भविष्यमा मूर्ती सम्बन्धी अनुसन्धान गर्नेहरुका लागि समेत सहयोग पुग्ने उनको भनाई छ ।
गढी क्षेत्रको जंगलमै रहेका ढुङ्गाहरुमा एतिहासीक, धार्मिक र सांस्कृतिक झल्कने खालका मूर्ती कुदिएको छ । कुदिएका मूर्तीले यस क्षेत्रको पर्यटनलाई थप टेवा दिने मात्र नभएर पर्यटन वर्ष २०२०को लक्ष्य पुरा गर्न समेत सघाउ पु¥याउने विश्वास नगरपालिकाले गरेको छ ।