१३ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले पछिल्लो तीन वर्ष यता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताए । उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्चगर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताए । उनले चीन र भारतको बाजरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।
लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताए । उनले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रुपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गरे ।
कार्यक्रममा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्ने व्यवस्था गरिएको समेत बताए । त्यस्तै लगानीकर्तालाई कुनै समस्या आएमा तत्काल लगानीबोर्डमार्फत समाधान हुने भएकाले लगानीका लागि कुनै झण्झट नरहेको बताए ।
कार्यक्रममा लगानीबोर्डले नेपालको करनीति, हेजिङ नीति तथा लगानी सम्बन्धी नीतिहरुका विषयमा चिनियाँ लगानीकर्तालाई जानकारी गराएको थियो । चिनियाँ लगानीकर्ताहरुले पनि नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानीबढाउन इच्छुक रहेको बताए ।

