काठमाडौं, फागुन २२
राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सम्पूर्ण राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुलाई एकता हुन आह्वान गरेको हो ।
बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिकामा भारतले अनधिकृत रुपमा पुल बनाएकोमा आपत्ति जनाउँदै कूटनीतिक रुपमा विरोध गर्न सरकारसँग माग समेत गरेको छ ।
राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुबीच एकताका लागि आह्वान गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीले आगामी बैशाख ७, ८ र ९ गते पर्साको वीरगंजमा पार्टीको केन्द्रिय परिषद बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरुबीचको एकता अनिवार्य रहेको धारणा राखे ।