झापा, फागुन २४
गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी झापामा जारी तेस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोलको नतिजा निकाल्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीले ४२ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।
आर्मीका नवयुग श्रेष्ठलाई डी बक्स एरिया नजिकै पुलिसका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमा जर्ज प्रिन्स कार्कीले सुन्दर गोल गरेका थिए । त्यसपछि पनि दुवै टिमले गोल गर्ने केही अवसरहरु पाएपनि खेर फालेका थिए ।
खेलको दोस्रो हाफमा पुलिसले आर्मीलाई केही दबाबमा राखेपनि गोल गर्न नसक्दा आर्मीले अघिल्लो चरणको यात्रा कायम राख्न सफल भयो । निर्णायक गोल गर्ने जर्ज प्रिन्स कार्की नै खेलको म्यान अफ दी म्याच घोषित भए ।
उनले नगद २५ हजार प्राप्त गरे । प्रतियोगितामा भोलिदेखी सेमीफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमीफाइनलमा आयोजक झापा ११ र रुस्लान थ्रि स्टारबीच खेल हुने आयोजकले जनाएको छ ।