झापा, फागुन २७
झापाको बिर्तामोड नगरपालिकालाई अब सँधैका लागि बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा उद्योगी व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरुले जोड दिएका छन् ।
निर्वाचन पश्चात् मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढेकाले समृद्ध मुलुक निर्माणका लागि बन्द हड्ताल मुख्य बाधक भएको उनीहरुको निष्कर्ष छ ।
आज संवाद समूह झापाले संयोजन गरेको छलफलमा सहभागी उद्योगी व्यवसायी, सामाजिक क्षेत्रका अगुवा तथा निवर्तमान सांसद लगायतले बन्दले कसैको हित नगर्ने बताएका हुन ।
उनीहरुले सबै सरोकारवाला एकजुट भएर बिर्तामोडलाई बन्दमुक्त बनाउन आव्हान समेत गरेका छन् । बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा सबै उद्योगी व्यवसायी, राजनीतिक दल, सामाजिक संघ–संस्थाको साझा धारणा तयार गरी बिर्तामोडलाई बन्दमुक्त गर्न उनीहरुले सुझाव समेत दिएका छन ।