काठमाडौँ, फागुन २७
नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताए ।
सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उनले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर े।
उपनेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम हुँदै गएको, संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको स्मरण गराए ।
उनले मधेशी, जनजाति, आदिवासी, महिलालाई अधिकार सम्पन्न बनाएको र स्थानीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनमा आएकामा खुशी व्यक्त गरे ।
रासस