१७ पुस, एजेन्सी ।
भारतको जम्मू–कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित २ जना भारतीय सैनिकको ज्यान गएको छ ।
बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन्।
२५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत रहेको पनि भारतीय सेनाले जनाएको छ। अर्जुनको घर गोरखाको रिप गाउँ भएको पनि भारतीय सेनाले जानकारी दिएको छ।
ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन्। उनले दुवै जना साहसी र बहादुर भएको पनि बताए।
‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर र जिम्मेवार सिपाही थिए। उनीहरुको सर्वोच्च सहादत र जागिरप्रतिको वफादारीलाई देशले सधैँ सम्झनेछ,’ उनले भने।
सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।



