काठमाडौं, फागुन २८
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयको संरचना नै बुझिनसक्नु रहेको टिप्पणी गरेका छनन् । मन्त्री यादवले ५० प्रतिशतभन्दा बढी जनशक्ति परिचालन गर्दा पनि कृषि उत्पादनले मुलुकलाई धान्न सक्ने अवस्था नरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।
सोमबार काठमाडौंमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मन्त्री भएको १५ दिन बित्दासमेत आफूले मन्त्रालयको संरचनानै बुझ्न नसकेको टिप्पणी गरे ।
मन्त्री यादवले अर्बौंको अनाज आयात गरेर मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै उत्पादन वृद्धि गर्ने दिशामा अघि बढन पनि उद्योगीहरुसँग आग्रह गरे ।
उनले सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको उल्लेख गर्दै त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा पनि जोड दिए । मन्त्री यादवले कुनै बेला व्यापारिक केन्द्र बनेका ठाउँहरु अहिले आयातमा भर पर्नुपर्ने अवस्थामा रहेको भन्दै त्यो मुलुकका लागि लाजमर्दो विषय भएको पनि स्मरण गराए ।