१७ पुस, काठमाडौँ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उखु किसानको समस्या समाधानका लागिपरेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री भट्टले उखु किसानले भोग्दै आएको भुक्तानीको समस्या समाधानका लागि सरकारले दीर्घकालीन उपाय खोजेको बताएका हुन् ।
मन्त्रालयमै किसान र उद्योगीलाई बोलाएर समस्या समाधानका लागि आफूले पहल गरेको पनि उनले बताए। उखु किसानहरु उद्योगीलाई खोज्दै काठमाडौं आएको थाहा पाउनेबित्तिकै समस्या समाधानका पहल गरेको मन्त्री भट्टले बताए। सम्पर्कमा नआएका अन्नपूर्ण र इन्दिरा सुगर मिल्सका सञ्चालकलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेसँगै सम्पर्कमा आएको उनले बताए। महालक्ष्मी सुगर मिल्सले पुस २५ गतेभित्र सबै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेको उनले बताए।
वाग्मती खाँडसारीले २ करोड ४१ लाख, हिमालय सुगर मिल्सले २ करोड, एभरेस्ट सुगर मिल्सले एक करोड ८० लाख र रिलायन्स सुगर मिल्सले ३३ लाख रुपैयाँ गरी झण्डै ६ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको मन्त्री भट्टले जानकारी गराए।
सरकारले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ ७ गतेभित्र बाँकी २० प्रतिशत भुक्तानी गर्न सबै चिनी मिललाई निर्देशन दिएको पनि मन्त्री भट्टले जानकारी दिए। समयमै भुक्तानी नगर्ने कम्पनीको कारोबार रोक्का गरिने पनि उनले बताए।
बुधबार उद्योग मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने आश्वासन दिएका थिए।