इराकका क्याम्पबाट विदेशी फर्किदै, ७ नेपाली फर्किए

२१ पुस ७६, मंगलबार

२२ पुस, काठमाडौं ।
इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ ।

उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् ।

आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् । ‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’

१२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’

उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन् ।

‘स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन,’ अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने, ‘अहिलेसम्म सुरक्षित छौं, यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो ।’ उनी काम गर्ने कफी सप तीन दिनदेखि बन्द छ । ‘सेनाकै अन्डरमा काम गर्ने भए पनि डर लाग्दो रहेछ,’ उनले भने ।

क्याम्पभित्र नेपालीहरू खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् । ‘यहाँ मासिक ८ सय डलर पाइन्छ । पहिला त ठीकै थियो, एक्कासि अवस्था बिग्रियो,’ खत्रीले भने ।

उनका अनुसार क्याम्पबाट बाहिर निस्कने अनुमति छैन । भित्र पनि सबै ठाउँमा जाने पहुँच हुँदैन । त्यसकारण क्याम्पभित्रकै सबै नेपालीसँग भेटघाट हुन पाउँदैन ।

अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । ‘कम्पनीले सुरक्षाको जिम्मेवारी लिएको छ । तलमाथि केही परे तुरुन्तै पठाइदिने वचन दिएका छन्,’ बग्दादस्थित गोरल होटलमा ९ वर्षदेखि कार्यरत गोरखाका जितमान गुरुङले फोनमा भने, ‘ढुक्कसँग काम गरिरहेका छौं ।’ उक्त होटलमा १६ जना नेपाली कार्यरत छन् ।

अवस्था प्रतिकूल बनेपछि होटलमा विदेशी पाहुना आउनेक्रम घटेको छ । बेबिलोन होटलमा कार्यरत गोरखाका कुन्दन घलेले भने, ‘हामी नियमित ड्युटीमै छौं । कम्पनीबाट चिन्ता लिनुपर्ने अवस्था छैन भनिरहेको छ,  यही कुरा हामीले परिवारलाई सुनाएका छौं ।’

बेबिलोनमा करिब सय नेपाली कार्यरत छन् । बग्दादबाट टाढा इराकको वार्सास्थित गल्फ क्याटेरिङ कम्पनी ( जीसीसी) का क्याम्पबोस झापाका बाला पाण्डेले आफूहरूलाई कम्पनीले सुरक्षाको योजनासहित राखेको बताए । ‘यहाँ २५ नेपाली र अरू विदेशी छन्,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाएको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि इराकमा रहेका नेपालीसँग सम्पर्क बढाइरहेको छ ।

‘नेपाली कामदारसँग सम्पर्क बढाई सूचना लिने काम गरिरहेका छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले सम्बन्धित क्षेत्रलाई नजिकबाट हेरेर आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिइएको बताए । उक्त निर्देशनअनुसार मन्त्रालयलाई नियमित जानकारी पठाइरहेको दूतावासले जनाएको छ।(कान्तिपुर)

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top