२५ पौष, एजेन्सी । इरानले दुर्घटनामा परेको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा क्षेप्यास्त्र नलागेको दाबी गरेको छ ।
बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै १७६ जना सवार बोइङ ७३७(८०० जहाज दुर्घटनामा परेको थियो। जहाजमा आगलागी भएकाले त्यसमा सवार कोही पनि बाँचेनन् ।
दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो। अमेरिका, क्यानडालगायत देशले युक्रेनी जहाज सोही दिन बिहान इरानले प्रहार गरेको क्षेप्यास्त्र भूलवश लागेर खसेको हुनसक्ने शंका गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रारम्भिक प्रमाणले क्षेप्यास्त्र लागेको हुन सक्ने देखाएकाले दुर्घटनाको पूर्ण छानबिन हुनुपर्ने माग गरेका छन् । इरान नागरिक उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले शुक्रबार पत्रकार सम्मेलन गर्दै जहाजमा क्षेप्यास्त्र नलागेको दाबी गरेका छन् ।
इरानी अधिकारीहरूले दुर्घटनाको छानबिन गर्न जहाज निर्माता कम्पनी बोइङलाई पनि तेहरान आउन आग्रह गरेका छन् । इरानले दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भने बोइङलाई दिन अस्वीकार गरेको छ। उसले बरू आफैंले डाटा डाउनलोड गरेर अध्ययन गर्ने बताएको छ। त्यसका लागि एक(दुई महिना लाग्न सक्ने उसको भनाइ छ ।
गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले त्यसको बदलास्वरूप बुधबार इरानमा रहेका दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन बढी मिसाइल हमला गरेको थियो । सो हमलाको केहीबेरमै जहाज दुर्घटनामा परेकाले क्षेप्यास्त्र लागेको हुन सक्ने शंका गरिएको छ ।
