एजेन्सी, पुस २८
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्ड दिने विशेष अदालतले सुनाएको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ ।
मुसर्रफबारे उच्च अदालतको फूल बेन्चले विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै सोमबार उल्ट्याइदिएको हो ।
डिसेम्बर १७,२०१९ मा देशद्रोहको मुद्दामा मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसको विरोधमा उनी उच्च अदालत गएका थिए। उच्च अदालतको फैसलामा विशेष अदालतले मुसर्रफलाई सजाय सुनाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको उल्लेख रहेको बीबीसीलेलेखेको छ।
संविधानको १८औँ संशोधनअनुसार संविधानको दफा ६ मा जुन संशोधन भएको छ त्यसअनुसार मुसर्रफबारे विशेष अदालतको फैसला दिन नमिल्ने फैसलामा छ। अभियुक्तको अनुपस्थितिमा बहस र फैसला गर्नु इस्लाम धर्म विपरित र गैरकानुनी एवं गैर संवैधानिक भएको उच्च अदालतले बताएको छ। मुसर्रफबारेको फैसलाको पूर्ण पाठ पछि जारी गरिने पनि उच्च अदालतले बताएको छ।
न्यायाधीश मुजाहिर अली नकवीले नेतृत्व गरेको तीन सदस्यीय बेन्चमा न्यायाधीश अमीर भट्टी र न्यायाधीश मसूद जहाँगीर सामेल थिए।सन् २०१३ मा चुनाव जितेपछि नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लीग (नवाज) ले पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध संविधान उलंघनको मुद्दा दर्ता गरेको थियो।
मुसर्रफले सन् २०१६ मा उपचारका लागि भन्दै पाकिस्तान छोडेका थिए। मृत्युदण्डको फैसला सुनाउने बेला उनी विदेशमा नै थिए। उनलाई मृत्युदण्ड सुनाएपछि पाकिस्तानको सेना र सरकारले असन्तुष्टि जनाएको थियो।
