२ माघ, एजेन्सी ।
भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बिहीबार सन् २०२० सिजनको लागि भारतको सिनियर टोलीको २७ खेलाडी सम्मिलित सूची सार्वजनिक गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समेटेको छैन ।
पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए ।
बिहीबार सार्वजनिक भएको सूचीमा धोनी सिनियर खेलाडीले पाउने सम्झौता पर्न सकेनन् । यससँगै धोनीको भविष्यबारे चल्दै आएको टिप्पणीले पनि नयाँ रुप लिने भएको छ ।
बिसीसीआईले अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि घोषणा गरेको सुचिमा खेलाडीलाई ४ श्रेणीमा विभाजन गरिएको छ । एं श्रेणीमा पर्ने खेलाडीले ७ करोड, ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीकाले ३ करोड र सी श्रेणीका खेलाडीले १ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।
यसअघि कप्तान धोनीले बोर्डको सम्झौता पाएका थिए । यस सिजनका लागि घोषित टोलीमा कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ए ं श्रेणीमा रहेका छन् ।
ए श्रेणीमा ११ खेलाडी छन् भने बी श्रेणीमा ५ खेलाडी रहेका छन् । सी श्रेणीमा ८ खेलाडी समावेश गरिएका छन् । नियमित रुपमा भारतीय टोलीमा स्थान बनाउन नसकेका खेलाडीले सम्झौता पाउँदा धोनी भने टोलीमा परेका छैनन् ।
सन् २०१४ डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०१७ जनवरीमा कप्तानको भूमिकाबाट पनि राजिनामा दिएका थिए । विश्वकपपछि भारतका लागि कुनै किसिमको क्रिकेट नखेलेका उनले आब आउने दिनमा संन्यास लिने विषयमा पनि चर्चा चलेको थियो ।
धोनीले हालसम्म ३ सय ५० एकदिवसीय र ९८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । धोनीको कप्तानीमा भारतले सन् २००७ मा टि–२० विश्वकप, सन् २०११ एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो ।
खेलाडी सूचीमा समावेश नभएसँगै धोनी अब सन् २०२० मा अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा समेत नखेल्ने सम्भावना बढेको छ ।