काठमाडौं, चैत ८
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिलाहरु निर्वाचनमा निर्वाचित भएको स्मरण गराउँदै अव कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
ललितपुरको सानेपामा आजबाट सुरु भएको अन्तराष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनीलाई उद्घाटन गर्दै उहाँले महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आह्वान गरे ।
महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले राजनीतिक अस्थिरताका कारणमा विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरे । कार्यक्रममा सफल महिला उद्यमीहरुलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।