२४ फागुन, एजेन्सी ।
पूर्व ब्राजिली फुटबल खेलाडी रोनाल्डिनो र उनका भाइलाई पाराग्वेमा मुलुक प्रवेश गर्न नक्कली पासपोर्ट (राहदानी) प्रयोग गरेको आरोपमा शुक्रवार गिरफ्तार गरिएको छ।
अभियोजनकर्ताहरू भन्छन्– पाराग्वेको राजधानी असुन्सियोनमा बुधवार ओर्लिँदा उनीहरूलाई नक्कली कागजपत्र दिइएको थियो। उनीहरूसँग बयान लिइएको छ। प्रहरीले उनीहरू बसेको होटेलको खानतलासी गरेको थियो। उनीहरूले कुनै पनि गलत काम गरेको अस्वीकार गरेका छन्।
कानुनको पालना
कर नतिरेको र ब्राजिलको संरक्षित क्षेत्रमा गैरकानुनी रूपमा भवन बनाएकोमा तोकिएको दण्ड नतिरेकाले उनका ब्राजिली र स्पेनी राहदानी जुलाई २०१९ मा जफत गरिएको बताइएको छ।
पाराग्वेका आन्तरिक व्यवस्था मन्त्री यूक्लीडस एसीभेडोले यो हप्ताको सुरुमा स्थानीय सञ्चार माध्यमलाई भनेका थिए, म उनको खेल र ख्यातिको सम्मान गर्छु तर कानुन पालना हुनै पर्छ। तपाईँ जो सुकै भएपनि कानुन लाग्छ।
यी ३९ वर्षीय खेलाडी एउटा किताबको प्रवर्द्धनका लागि र विभिन्न सुविधाबाट बञ्चित बच्चाहरूका लागि गरिएको एउटा अभियानमा सहभागी हुन पाराग्वे पुगेको बताइएको छ।
रोनाल्डिनो सन् २००४ र २००५ मा वर्ष विश्व खेलाडी बनेका थिए। स्पेनको ठूलो फुटबल क्लब बार्सिलोनामा रहँदाको त्यही समयावधिमा उनको खेल जीवन चरमोत्कर्षमा पुगेको मानिन्छ।
उनले प्रख्यात सहकर्मी खेलाडीहरू रोनाल्डो र रिभाल्डोसँगै खेलेर ब्राजिललाई सन् २००२ को विश्वकप फुटबल विजेताको उपाधि दिलाएका थिए। उनको कुल सम्पत्ति ८ देखि १० करोड पाउण्ड रहेको अनुमान गरिन्छ।
उनले विज्ञापनका लागि गरिने एउटा इन्स्टाग्राम पोष्टका लागि १ लाख ५० हजार पाउण्ड लिने गरेको बताइन्छ।(बीबीसी)
