२९ फागुन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै अमेरिकाले ३० दिनका लागि युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातिदेखि लागू हुने गरी युरोपेली मुलुकबाट हुने सबै यात्रामाथि प्रतिबन्धको घोषणा गरेका हुन् । प्रतिबन्धमा बेलायत भने परेको छैन । बेलायतमा अहिलेसम्म कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ भने ४ सय ५६ जना संक्रमित रहेका छन् ।
राष्ट्रपति ट्रम्पले प्रतिबन्ध ‘कडा कदम’ भए पनि ‘अत्यन्तै आवश्यक’ भएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अमेरिकाले जस्तो पूर्वसावधानी अपनाउन नसकेको पनि बताए ।
चीनपछि कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित इटालीले खाद्य सामग्री र औषधि पसल बाहेक सबै पसल बन्द गर्ने र राष्ट्रव्यापी रुपमा आवतजावत ठप्प पार्ने घोषणा गरेसँगै ट्रम्पले युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्ध लगाएका हुन् ।