काठमाडौं, चैत १०
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज पनि जारी छ । निर्वाचनको समीक्षा गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा हिजोदेखि सुरु भएको काँग्रेस केन्द्रिय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ—आफनो धारणा राख्ने क्रम जारी छ ।
बैठकको शुभाम्भ गर्दै हिजो पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको समग्र विषयमा समिक्षा गर्ने एजेन्डा प्रस्तुत गरेका थिए । निर्वाचनको समग्र विषयमा समिक्षा हुने गरी छलफल अघि बढाउनेगरी सभापति देउवाले एजेन्डा पेश गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठक निर्वाचनमा पार्टी पराजय हुनुको कारणको खोजी गर्न केन्द्रित हुने पनि प्रवक्ता शर्माले बताए । बैठकमा पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफ्नो धारणा राख्दै पार्टी नेतृत्वकै कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको आरोप लगाएका थिए ।
पूर्व महामन्त्री सिंहले बैठकमा लिखित प्रस्ताव पेश गर्दै तत्काल महासमिति बैठक बोलाएर पार्टीलाई सशक्त बनाउन पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
नेता सिंह र सिटौलाले पार्टी सभापति देउवा नेतृत्वको सरकारको जनविरोधि कामका कारण पनि पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको आरोप लगाए । बैठक अझै केही दिन लम्बिनेछ ।