११ चैत, काठमाडौँ ।
सरकारले स्वास्थ्य सामग्री तथा किटहरु ल्याउनको लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सो निर्णय गरेको हो ।
सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत बताए ।
कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, बीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकु स्थित ल्याबमा स्वाब परिक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।