१२ चैत, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट आएको खुलेको छ । उनी चैत ६ गते कतारबाट नेपाल आएको बुधबार गरेको प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष रहेको मन्त्री ढकालले बताए। जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो।
कतारबाट काठमाडौँ आएर होटलमा बसेका उनको स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए।
होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने मन्त्री ढकालले बताए । ती व्यक्तिको आइसोलेसनमा उपचार भइरहेको छ।
यसअघि नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।