१९ चैत, विराटनगर । विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा उच्च रक्तचाप भएकी एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।
अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ घण्टापछि अस्पतालले मृत घोषणा ग¥यो ।
मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका थिए । विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गरेको थियो ।
न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गर्यो । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठाएको थियो । विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए । नोबल मेडिकल कलेजले अन्त्यमा भर्ना लियो तर समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको छोरी लक्ष्मीको गुनासो छ ।
धरानको रेफरपछि न्यूरोले भेन्टिलेटर खाली नभएको बताएको थियो । विराटले कुनै कारण नदेखाई रेफर गर्यो । उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् । न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । बिरामीका कोरोना संक्रमणको शका नभएको बताउँदै उनले न्यूरोमा भेन्टिलेटर नै खाली नरहेको बताए ।
विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक सामाग्री नभएको बताए । स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारसँग पीपीई माग गरिएको उनले बताए ।