फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी भन्छिन्-‘कोरोनाले खुशी साट्नै पाइन’

२२ चैत ७६, आइतबार

२२ चैत, काठमाडौँ ।
दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन ।

हाल अमेरिकाको क्यालिफोर्नियामा स्नातक तहमा अध्ययनरत प्रतिमा बिहीबार फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२० को एशियाका ३० वर्षमुनिका ३० युवा प्रतिभाशाली व्यक्तिको सूचीमा परेकी एक मात्र नेपाली खेलाडी हुन् । उनी नेपालको एक नम्बरकी महिला गल्फ खेलाडी हुन् । फोर्ब्सले सार्वजनिक गरेको ३०० जनाको सूचीमा नेपालका ६ युवा परेका छन् ।

उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभाङ्गी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् । बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकूद विधामा २४औँ स्थानमा पर्न सफल भएकी छिन । फोर्ब्सको यो सूचीमा भविष्य परिवर्तन गर्न सक्ने क्षमता राख्ने व्यक्तिलाई समावेश गरेको छ ।

Advertisement

उक्त सूची तीन हजार ५०० जनाबाट छानिएको हो । फोर्ब्सले यस्ता व्यक्ति छान्नका लागि समिति बनाउँछ । बिहीबार राति फोर्ब्सको सूचीमा परेपछि नेपालमा रहेका उनका साथीले प्रतिमाले उक्त खबर सुनाएका थिए । त्यसयता उनको मन फुरुङ्ग भएको छ ।

‘चाँडोभन्दा चाँडो नेपाल फर्कन पाए हुन्थ्यो जस्तो भएको छ’, अमेरिकाको क्यालिफोर्नियाबाट फोनमा कुरा गर्दै उनले भनिन्, ‘कोरोना भाइरसका कारण साथीभाइ र आफन्तलाई खुशी साँट्नै पाइनँ ।’ कोरोना भाइरसका कारण उनी नेपाल आउन सकिरहेकी छैनन् । प्रतिमा बस्दै आएको क्षेत्रमा १२० कोरोनाबाट सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।

Advertisement

यसले उनको मन झन् त्रसित छ । ‘यस्तो अवस्थामा नेपाल फर्कन पाए हुन्थ्यो, बाबुआमा र आफन्तका साथमा बस्न पाए मन हलुका हुन्थ्यो ।’ घर बाहिर ननिस्के खासै समस्या नहुने प्रतिमा बताउँछिन् । अमेरिकामा रहेका नेपालीसित सामाजिक सञ्जालमा खबर आदान–प्रदानका माध्यमबाट मन बहलाउने गरेको उनले बताइन् । ‘नेपालमा अमेरिकाको भन्दा कोरोनाको त्रास कम रहेछ’, उनले साथीभाइबाट पाएको खबर सुनाइन् ।

प्रतिमाको घर सोलुखुम्बुको नाम्चे हो । उनको जन्म काठमाडौँमै भएको हो । ‘एकपटक मात्र जन्मथलो गएकी छु’, उनले सुनाइन्, ‘टाढा छ पटक–पटक जान सकिन्नँ ।’ पिङ्गलास्थानस्थित बाबा बाटिका विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनी ४ कक्षा पढ्दादेखि नै गल्फ खेल्न थालेकी हुन् । उनको परिवार गौचरनस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्ष (मैदान) सँगैको छाप्रोमा बस्दै आएको छ । उनका बुबा पासाङ सो मैदानका सुरक्षागार्ड हुन् भने आमा त्यहीँ मैदानको रेखदेख गर्छिन् ।

मैदानभित्रै बसाइँ भएका कारण प्रतिमाको मन गल्फतर्फ आकर्षित भएको हो । ‘राम्रोसित होश नफिर्दा नै काठको स्टिक खेल्न थाले, नबुझेरै गल्फमा मन बस्यो’, उनले बिगत सुनाइन् । हाल पढाइ र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहेकी उनी नेपालकी पहिलो एम्च्योर महिला गल्फर हुन् । प्रतिमा नेपालका लागि पहिलो व्यावसायिक गल्फर बन्न चाहन्छिन् । होश नफिर्दै गल्फमा रमाएकी उनी सानो छँदा रमाइलोका लागि खेल्थिन् । यसरी बालसखासित रमाइलो गर्दागर्दै गल्फ खेलाडी बनेको पत्तै भएन । ‘रमाइलोका लागि खेल्थे, खेलाडी नै बन्छु भनेर कहिल्यै कल्पना गरिनँ’, अमेरिकाको क्यालिफोर्नियाबाट प्रतिमाले खुशी हुँदै भनिन्, ‘अब यसमै भविष्य बनाउँछु ।’

पछिल्लोपटक प्रतिमा गत असारमा नेपाल आएकी थिइन् । यस्तो महामारीमा उनको मन नेपालमै छ । ‘बाबुआमाको निकै चिन्ता लागिरहन्छ, कोरोनाको त्रास हटेपछि छिट्टै बाबुआमालाई खुशी साँट्न नेपाल फर्कन्छुँ’, उनले भनिन् । नेपालमा गल्फको खासै विकास हुन नसकेकोमा उनी चिन्तित छिन् । ‘फुटबल र क्रिकेटमा जस्तै नेपाली युवा पिँढीको ध्यान गल्फमा आकर्षित गराउन चाहन्छु’, नेपालको गल्फप्रति आशावादी हुँदै प्रतिमाले भनिन् । उनी पढ्न अमेरिका जानु अघिसम्म सानो गौचरनस्थित गल्फ मैदानमा चार पाँच जना मात्र महिला खेलाडी मात्र आउने गरेको उनले सम्झिइन् । ‘धेरैजसो रमाइलो गर्न मात्र आउँथे, गल्फ नै सिक्छु भनेर आउन्नथे’, प्रतिमा भन्छिन्, ‘अहिले पनि नियमित खेल्न र अभ्यास गर्न आउने कमै छन् ।’

धेरैको मनमा गल्फ खलेर भविष्य बन्दैन भन्ने छ । नेपालमा यो खेलको पूर्वाधार पनि छैन । महङ्गो खेल हो । त्यसैले गल्फ सबैले सहजै चाहेर पनि खेल्न सकिँदैन भन्ने आम धारणा छ । प्रतिमा यो परम्परागत धारणामा परिवर्तन ल्याउन चाहन्छिन् । ‘पढाइ सकेर नेपाल फर्कन्छु, नयाँ खेलाडी उत्पादनतर्फ जोड दिन्छु’, उनले भविष्यको योजना सुनाइन् । गल्फप्रतिको आम धारणालाई परिवर्तन गर्नका लागि अभियान नै चलाउने उनको इच्छा छ । ‘मेरो ध्यान त्यसमै केन्द्रित छ, नेपालमा पनि गल्फको सम्भावना छ’, प्रतिमाले निकै आशावादी हुँदै भनिन् । गल्फको पूर्वाधार विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट हुन नसकेको दुखेसो पोखिन् । ‘म जस्तो सामान्य आयस्तर भएको परिवारकाले त गल्फ खेलाडी बन्न सके, अरुले नसक्ने भन्ने कुरै हुन्न’, उनी भन्छिन्, ‘आर्थिक अवस्था मात्र सबैथोक होइन, इच्छाशक्तिमा भर पर्छ ।’ दाउरालाई गल्फ स्टिक मानेर गल्फ खेल्न शुरु गरेकी प्रतिमाले हिमाल आरोहण र पथप्रदर्शकका विश्वभर चिनिएका शेर्पा परिवारमा गल्फ खेलाडी बनेर सबैलाई आश्चर्यचकित पारिन् ।

प्रतिमाका बुबा आमाले गल्फ राम्रोसँग बुझेका छन् । त्यसैले उनीहरुले प्रतिमालाई गल्फ खेल्न प्ररित गरे । ‘बा आमाको साथ पाएकी छु, दुवै जनाबाट गल्फ खेल्न प्रेरणा मिल्यो’, उनले भनिन्, ‘जुनसुकै क्षेत्रमा पनि अघि बढ्न घर परिवारको साथ चाहिन्छ ।’ काठमाडौँको खुशीबुँस्थित प्राइम कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि उनी अध्ययन र प्रशिक्षण्का लागि अमेरिकातर्फ हान्निएकी हुन् । खेलका माध्यमले सर्वत्र चिनिन्छ भन्ने उनको बाबुआमाको धारणा थियो । यसलाई प्रतिमाले सत्य सावित गरिदिएकी छिन् । नौ वर्षयता उनले झण्डै ६० प्रतियोगिता खेलेकी छिन् । करिब ३५ प्रतियोगितामा प्रथम भएको उनी बताउँछिन् ।

उनी अमेरिकामा कलेजको टोलीबाट गल्फ खेल्छिन् । कलेजमा सधैँ अभ्यास हुन्छ । अहिले कोरोनाका त्रासले कलेज बन्द छ । प्रतियोगिता निरन्तर भइरहने भएकाले उनको खेलको स्तर बढ्दै गएको छ । अहिले कोरोनाका कारण अभ्यास गर्न नपाएकामा छटपटी भइरहेको उनले सुनाइन् । ‘चाँडै कोरोना सङ्क्रमण हट्ने छ र अभ्यास गर्ने वातावरण बन्छ होला’, प्रतिमा भन्छिन्, ‘नेपालमा पढ्दा विद्यालय र कलेजमा गल्फ खेल्ने साथी पाउन सकेकी थिइनँ, यहाँ त्यो सब छ ।’ प्राइम कलेजमा पढ्दा गल्फ खेल्न पर्याप्त समय नपाएको उनले सम्झिन । ‘सायद म एक्लो गल्फर भएर होला त्यसो भएको’, उनले चित्त बुझाइन् । रोयल नेपाल गल्फ क्लबको सहयोगमा उनले गल्फको यात्रा थालेकी हुन् । उनी घरेलु गल्फ कोर्षमा सर्वाधिक उपाधि जित्ने महिला गल्फर हुन् । त्यसैले उनलाई गल्फ क्लबले नेपालको नम्बर वान नेपाली महिला गल्फरको उपाधि दिएको हो । उनले यसको श्रेय रोयल नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घले तथा बाबुआमालाई दिएकी छिन् । उनले अमेरिकामा छँदा विश्व चर्चित गल्फ स्टार टाइगर उड्सलाई समेत भेटिसकेकी छिन् ।

छोरीको प्रगतिबारे आमा कल्पनालाई त्यति धेरै थाहा छैन । तर जे–जति प्रतिमाको साथीबाट सुनेकी छिन् त्यसमा उनको एक मात्र सन्तानप्रति गर्व छ । ‘तपाईँको छोरीले राम्रो गरिन्, नाम कमाइन्’, बिहीबार साँझ काठमाडौँमा रहेका प्रतिमाका साथीहरुले फोनमा सुनाएको खबरबारे प्रतिक्रिया जनाउँदै आमा कल्पनाले भनिन् । फोर्ब्सको सूचीबारे भने उनलाई कत्ति पनि थाहा छैन । ‘एक हप्तादेखि इन्टरनेट चलाउन पाएका छैनौँ, खबर के हो थाहा छैन’, शुक्रबार मध्याह्न रासससित फोनमा कुरा गर्दै कल्पनाले भनिन् । गल्फ खेलमा राम्रो गरेकै कारण छोरीले नाम कमाएको भन्ने कुरा मात्र उनले बुझेकी छिन् । गौचरनस्थित गल्फ मैदानमा काम गरेको २२ वर्षपछि उनले जागिरबाट अवकाश पाएकी छिन् । उनले अहिले पनि त्यो मैदानमा पानी हाल्ने, घाँस काट्ने तथा मैदान चुस्तदुरुस्त पार्ने काम गर्दै आएकी छिन् । प्रतिमाका बुबा पासाङ पनि त्यही खेलमैदानका सुरक्षागार्ड हुन् । बाबुआमा नै गल्फमै समर्पित भएका कारण प्रतिमालाई यो खेलमा लाग्न सहज भएको हो ।

उनले त्यही भएर खेल्ने वातावरण पनि पाइन् । आमा कल्पनाले जस्तै बुबा पासाङले पनि गल्फमा छोरीले राम्रो गरिन् भन्ने मात्र थाहा छ । ‘के–कसरी नाम कमाइन् भन्ने थाहा छैन, जे गरेको भए पनि खुशी छौँ’, उनले खुशी प्रकट गर्दै भने । कोरोनाको त्रासले गल्फ खेल्न तथा अभ्यास गर्न कोही नआएकामा शेर्पा दम्पतीको मन खिन्न भएको छ । ‘सुनसान छ, कोरोनाको त्रासपछि यहाँ अचेल यहाँ चराको आवाज पनि सुनिन्न’, उनले भने । लकडाउन अघि ५०÷६० जना नियमतरूपमा अभ्यास गर्न आउने गरेका शेर्पाले सुनाए । उनीहरुको मनमा छोरी प्रतिमाको जति माया छ त्यत्तिकै त्रास कोरोना भाइरसको पनि छ । ‘यस्तै त कतिसम्म रहला र गल्फ मैदानभित्र चाँडै पहिलाकै जस्तै चहलपहल भइहाल्ला, उनीहरुले आशावादी हुँदै भने । प्रतिमाको प्रगति उसकै मुखबाट सुन्ने प्रतिक्षमा शेर्पा दम्पती छन् । उनीहरु अमेरिकाबाट छोरी चाँडै फर्कने प्रतिक्षा गर्दै विमानस्थलको बाटो हेरी बसेका छन् ।रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top