३० चैत, वीरगञ्ज ।
तीन जना भारतीयलाई कोरोना संक्रमण भेटिएपछि वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ ।आईतबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिका अनुसार कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकोले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको छ ।
त्यस्तै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुर्को यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।उनले संक्रमितको संसर्गमा आएका व्यक्ति र गएका स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्रता दिने निर्णय भएको पनि बताए ।
वीरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया स्थित मस्जिदहरुमा रहेका २६ जना भारतीय नागरिकको नारायणी अस्पतालबाट थ्रोट स्वाब संकलन गरी हेटौंडा स्थित प्रदेशस्तरीय प्रयोगशालाको ल्याबमा बिहिबार परीक्षणका लागि पठाइएको थियो । जसमध्ये ३ जनामा कोभिड – १९ पोजेटिभ देखिएको छ । छपकैयामा रहेका मस्जिद तथा उक्त क्षेत्रमा रहेको उक्त समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रित गरी उक्त वडा र यसको वरिपरी रहेको वडाका भागहरुलाई शिलबन्दी गर्ने निर्णय गरिएको हो ।