७ बैशाख, विराटनगर । कोभिड १९ महामारीका कारण मुलुक यतिबेला लकडाउनको अवस्थामा रहेको छ । लकडाउनका कारण सवै क्षेत्र ठप्प हुदा धेरैलाई गुजारा चलाउन समस्या भएको छ । यस्तो बेला विभिन्न संघसस्थाले राहत वितरण गर्दे विपन्न र समस्यामा परेकालाई सहयोग गर्दे आएका छन् ।
रोटरी क्लब अफ विराटनगर डाउन टाउनले आइतबार कोशी अस्पतालका सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको छ । क्लबले कोशी अस्पतालमा उपचाररत करिव ५० जना सुत्केरीहरुलाई राहत वितरण गरेको हो । आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि राहतस्वरुप हर्लिक्स, मास्क,तौलिया , सेनिटरी प्याड, बच्चालाई कपडा र हात धुने साबुन प्रदान गरेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष अर्चना तापरियाले बताएकी छन् । उनले अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई कोरोना महामारी तीव्ररुपमा फैलिरहेको बेला अस्पतालमा समेत आमा र बच्चाको स्वास्थ्यबारे ध्यान दिन सचेत गराइएको बताइन् । साथै उनले कोशी अस्पताल अन्र्तगतको कोरोना अस्पताललाई ५० थान स्वास्थ्य सामग्री पीपीई समेत दिएको बताइन् । उक्त पीपीई क्लबले मेडिकल सुपरीटेन्डेन्ट संगीता मिश्रलाई हस्तान्तरण गरेको छ ।
लकडाउनको अवधिमा यसअघि पनि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न वर्गका मानिसहरुलाई राहत वितरण गरेको थियो । क्लबले यसअघि १२ सय केजी चामल राहतस्वरुप वितरण गरेको अध्यक्ष तापरियाले बताइन् ।
यस्तै दुईदिन अघि अग्रस्थानमा रहेर महामारी नियन्त्रणका लागि काम गरिरहेका सुरक्षाकर्मीलाई समेत एक सय थान माक्स, २ सय थान पञ्जा र २ सय थान सेनिटाईजर वितरण गरेको उनले बताइन् ।