काठमाडौं, चैत १५
सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवस कायम गरेको छ । मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाल जानकारी दिए ।
असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ—आफ्नो हिसाबले मनाइनेछन् ।
तर, त्यस दिन सार्वजनिक विदा दिइने छैन । दशैं विदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।
त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौति गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।
अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइनेछ । अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ ।