१२ वैशाख, विराटनगर ।
वल्र्ड भिजन इन्टरनेशनले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवस्यक ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई सेट) प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।
३४ लाख रुपैया बराबरको सो सामाग्री शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरिएको छ । वल्र्ड भिजनका पूर्व क्षेत्रीय ब्यवस्थापक विनय अमात्यका अनुसार भिजनले प्रदेश सरकारलाई २ सय १५ वटा पीपीई सेटसंगै ३२ थान आईआर थर्मोमिटर समेत उपलब्ध गराएको छ ।
अमात्यले पीपीई सेट प्रदान गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको बताए । वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्मोमिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको अमात्यले जानकारी दिए ।
सो क्रममा प्रदेश एकका मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु वितरणको व्यवस्था मिलाउने बताए ।
पीपीई प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा वल्र्ड भिजनको साँझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।